जेन–जी आन्दोलनको नाममा तोडफोड-आगजनी: पर्सा अदालतको पक्राउ पुर्जीपछि एक जना पक्राउ, एमाले नगर सचिवको खोजी जारी

वीरगञ्ज – “जेन–जी आन्दोलन” को आडमा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा दिने संस्थामा आगजनी र तोडफोड गरेको आरोपमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

गत भदौ २४ गते वीरगञ्जमा भएको आन्दोलनका क्रममा केही समूहले राजनीतिक नेतृत्वको निजी घर र सार्वजनिक सेवा संस्थामा तोडफोड तथा आगजनी गरेको आरोप छ। त्यस घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजीमा रहेको प्रहरीले सिसिटिभि फुटेज र स्थानीय बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न भनिएका व्यक्तिहरूविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो। सोही आधारमा प्रहरीले आज वीरगञ्ज महानगरपालिका–३ निवासी फजल करिमका छोरा महमद अयुब हुसेन लाई पक्राउ गरी जिल्ला अदालत पर्सामा उपस्थित गराएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य आरोपितहरूको खोजी कार्य जारी छ। पक्राउ पुर्जी जारी भएकाहरूमा नेकपा एमालेका नगर सचिव लियाकत अलीसहित केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ।

पर्सा प्रहरीका प्रवक्ताले भने, “आन्दोलनको नाममा हिंसा, आगजनी र तोडफोडमा संलग्न जो कोहीलाई पनि प्रमाणका आधारमा कानुनी कारबाही गरिन्छ। कसैलाई पनि उन्मुक्ति दिइने छैन।”

सम्बन्धित पोस्टहरुः