वीरगंज, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगंजमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।’ आफू दुर्ई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए ।
उनले भारतले पनि हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे । अध्यक्ष यादवले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने भन्दै तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा आफ्ना कुराहरू पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौती समेत दिए ।
निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आयोगले ७७ वटै जिल्लाबाट एक–एक जना मात्रै प्रतिनिधि सभा सदस्य हुनुपर्ने भनेर ल्याएको सुझावप्रति आपत्ति जनाए । निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा हुनुपर्ने धारणा उनको थियो।
