१ अषाढ बिरगंज । हातमा एउटा संस्थाले दिएको सम्मानपत्र थियो, अर्काे हातमा थियो सम्मानित भएर पाएको नगदको खाम। विद्यालयमा सर्वाेत्कृष्ट भएर सम्मानित हुँदा पनि उनकाे अनुहारमा उत्साह थिएन। लगभग १४–१५ वर्षकी ती बहिनीको प्रतिभा देख्दा लाग्थ्यो, उनको अगाडि सम्भावना नै सम्भावनाको एउटा सग्लो आकाश खुला छ।
एउटा सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याएर ’स्कुल टप’ गरेकी उनलाई मैले निकै उत्साहका साथ सोधेँ, “बहिनी, अब प्लस टु मा कहाँ अनि के पढ्ने सोचमा हुनुहुन्छ ?“
मलाई लागेको थियो, उनले कुनै कलेजको नाम लिनेछिन्, आफ्नो सपनाको विषय सुनाउनेछिन्। तर, उनले दिएको जवाफले मलाई भित्रैदेखि स्तब्ध बनायो र सोच्न बाध्य बनायो । जसको उपज हो, यो स्टाटस।
उनले भनिन्, “हैन दाई, घरमा अब देखि नपढ्ने, बिहे गर्ने भन्दै हुनुहुन्छ।“
यो संवाद भएको एक साता बितिसक्यो, तर उनको त्यो मलिन अनुहार र वाक्य मेरो मानसपटलबाट अझै हटेको छैन। नलेखी बस्नै सकिनँ।
हाम्रो देशकै कतिपय पहाडी वा पश्चिमी भेगहरूमा छोराछोरी परीक्षामा अनुत्तीर्ण हुँदा पनि अभिभावकले काँधमा धाप मार्दै भन्छन्, “केही छैन बाबु/नानी, अर्को वर्ष पास भइहालिन्छ, तर पढ्नुपर्छ।“ त्यहाँ कम्तीमा ‘पढाउनुपर्छ’ भन्ने चेतनाको एउटा बलियो जग बसिसकेको छ।
तर, हामी कहाँ छौँ? आजको विश्व कृत्रिम बुद्धिमत्ता (AI) र नयाँ–नयाँ प्राविधिक आविष्कारको गतिसँगै दौडिरहेको छ। दुनियाँ अन्तरिक्ष र प्रविधिको प्रतिस्पर्धामा व्यस्त रहँदा, हाम्रा सर्वोत्कृष्ट छोरीहरू भने एसईई सकियो, अब पढाइ छोडेर ‘बिहे गर्’ भन्ने पुरातन मानसिकताको साङ्लोमा बाँधिन विवश छन्।
प्रतिभा भएर पनि अवसरबाट वञ्चित गरिने यस्तो नियति कहिलेसम्म? शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा समेत आफ्ना नागरिकलाई सचेत र सुरक्षित बनाउने कुरामा आखिर सरकार कहाँ चुकिरहेको छ? कि दोष हाम्रै समाज र चेतनाको हो?
जबसम्म विद्यालय टप गर्ने मात्रै नभइ हरेक छोरीहरूको गन्तव्य कलेजको कक्षाकोठा नभएर कसैको भान्छा र सिन्दूर मात्र बन्छ, तबसम्म हामीले गर्ने ’विकास’ का गफहरू केवल खोक्रा नारा मात्र हुन्।









