
आज विश्व रक्तदाता दिवस हो। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।
सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै नि:शुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ।
डब्लुएचओले संकलन गरेको १३२ देशको तथ्यांकअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत संकलन करिब १९ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा नि:शुल्क रक्तदाताबाट आएको छ।
सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन। विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।
डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन्।

