वीरगञ्ज, – वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाई टोलमा दाइजो विवादको आरोपसँग जोडिएको एक महिलाको मृत्यु भएको छ। घटनामा श्रीमान्को संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरी स्रोतका अनुसार घरभित्रै महिलाको शव फेला परेपछि स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकका परिवारले दाइजोका लागि श्रीमान्ले हत्या गरेको आरोप लगाएका छन्। आरोपित श्रीमान्लाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ताले भने, “घटनाबारे जानकारी पाएपछि हामी तुरुन्तै खटिएका थियौं। शवलाई पोष्टमार्टमका लागि पठाइएको छ। दाइजो विवादका कारण हत्या भएको भन्ने कुरा प्रारम्भिक आरोप मात्र हो। वैज्ञानिक प्रमाण, फरेन्सिक रिपोर्ट र बयानका आधारमा मात्र निष्कर्षमा पुगिन्छ। आरोपितबाट बयान लिइरहेका छौं।”






