वीरगञ्ज, २२ जेठ।
विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
वातावरण संरक्षण, हरित वातावरणको प्रवर्द्धन तथा स्वच्छ सहर निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिनुका साथै क्षेत्रको सरसफाइ गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेतानले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी पनि भएको बताए। उनले जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा हरियाली क्षेत्रको कमीले मानव जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्दै वातावरण जोगाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
उनले भने, “एक व्यक्तिले एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने अभियानलाई व्यवहारमा उतार्न सके वातावरण संरक्षणमा ठूलो योगदान पुग्छ। हरियाली बढाउनु भनेको स्वस्थ र सुरक्षित भविष्य निर्माण गर्नु हो। यस्ता कार्यक्रम केवल एक दिनका लागि सीमित नभई निरन्तर सञ्चालन हुनुपर्छ।”
खेतानले सामुदायिक प्रहरी र स्थानीय तहबीचको सहकार्यले सामाजिक तथा वातावरणीय क्षेत्रमा सकारात्मक परिणाम ल्याइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रम सम्पन्न भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४७ औँ बटालियन, रक्सौलका प्रतिनिधिहरूलाई वातावरण संरक्षणमा सहकार्यको सन्देशस्वरूप पाँच वटा बिरुवा हस्तान्तरण गरिएको थियो। नेपाल–भारत सीमावर्ती क्षेत्रमा हरियाली प्रवर्द्धन तथा वातावरणीय सहकार्यलाई अझ सुदृढ बनाउन उक्त बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।







