वीरगन्जमा प्राकृतिक गुडको चिया क्याफे शुभारम्भ, चिया पारखीहरूको बाक्लो भिड

लालबाबु सिंह वीरगन्ज, ४ साउन

वीरगन्जमा चिया पसलहरूको बीचमा प्राकृतिक गुडको विशेषता सहितको “गुडली चिया” क्याफेको शुभारम्भ भएको छ। वीरगन्ज–१० आदर्शनगरस्थित एनआईसी एशिया बैंकको अगाडि सञ्चालनमा आएको यस क्याफेको शुभारम्भ “गुडली चिया” का सञ्चालक सीए उमेश यादवका आमाबुवाबाट एक सभ्य एवं भव्य समारोहबीच सोमबार गरिएको हो। उद्घाटनका दिन दिउँसो ३ बजेदेखि अबेर राति ८ बजेसम्म ७५ लिटर चिया निःशुल्क उपलब्ध गराएर सेवा दिइएको सञ्चालक यादवले बताएका छन्।

सो अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जसपाल सिंह, मधेस विश्वविद्यालय वीरगन्जका प्राध्यापक प्रा. डा. हरेराम ठाकुर, वीरगन्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, समाजसेवी अविनाश झा, केदार गुप्ता, सन्तोष ठाकुर, सञ्चारकर्मी आकाश पटेललगायत वीरगन्जका विभिन्न व्यावसायिक प्रतिष्ठान, संघसंस्था, सरकारी तथा निजी कार्यालयका प्रतिनिधिहरू, अग्रज, महिला, युवा र चियाका पारखीहरूको बाक्लो सहभागिता रहेको थियो। अतिथिहरूले प्राकृतिक गुड मिश्रित चिया पिएर यो निकै स्वादिलो रहेको प्रशंसा गर्दै गुडली चिया प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा सञ्चालक सीए यादवले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको र देशमा, खासगरी मधेसमा किसानले उत्पादन गरेको उखुको संरक्षण, प्रवर्द्धन तथा संवर्द्धन गर्न प्राकृतिक गुडसहितको चियाको अवधारणा ल्याएको बताए। उनले डेढ वर्षअघि साथीसँग मिलेर प्राकृतिक गुडको चिया व्यवसाय सुरु गरे पनि केही समयपछि साझेदारीमा समस्या आएकाले आज वीरगन्जमा आफ्नै नयाँ पहिचानका रूपमा “गुडली चिया” सुरु गरेको जानकारी दिए।

सञ्चालक यादवले दैनिक उपभोगको वस्तु, त्यसमा पनि चिया सबैले प्रायः मन पराउने हुनाले शरीरमा कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भनी ध्यानमा राखेर अङ्ग्रेजी शब्द ‘Good’ (जसको अर्थ राम्रो हुन्छ) लाई मूलमन्त्र बनाएर यो चिया बजारमा ल्याएको बताए। “सीए भएर पनि चियाको व्यवसाय किन गरेको भन्दा, म सीए हुँ, जहाँ पनि जे गरे पनि पैसा कमाउन सकिन्छ; तर मैले यो व्यवसाय गर्दा एउटा शाखाबाट ५ देखि ७ जनालाई रोजगारी उपलब्ध हुने, उहाँहरूको परिवारको आर्थिक स्थिति मजबुत हुने र देशको आर्थिक अवस्थामा समेत टेवा पुग्ने भएकोले यो व्यवसाय सुरु गरेको हुँ,” उनले भने। उनले सम्पूर्ण युवाहरूलाई रोजगारी नभए आफैँले रोजगारी सिर्जना गरी देशमै बसी आम्दानी गर्न र अरूलाई पनि कमाउन मद्दत गर्न आग्रह गरे।

गुडली चिया क्याफे बिहान ६ बजेदेखि राति ८/९ बजेसम्म खुला रहनेछ। साथै, ग्राहकहरूको सुविधाका लागि वीरगन्जभरि घर, अफिस, व्यावसायिक पसलहरू तथा कुनै पनि मिटिङ्ग र समारोहहरूमा निःशुल्क होम डेलिभरी सेवा प्रदान गरिने सञ्चालक यादवले बताए। उनले एकपटक गुडली चिया पिएर सुरुवात गर्न आग्रह गर्दै, स्वाद चाखेपछि ग्राहकहरूले पटक-पटक साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ सेवामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पोस्टहरुः