ब्राउन सुगरसहित राकेश र अजित बारा प्रहरीको नियन्त्रणमा

बारा – बारा जिल्ला प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जेष्ठ २१ गते विश्रामपुर गाउँपालिका-२ बरैनिया बजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत, बिहारको मोतिहारी जिल्ला हरपुर पञ्चायत बस्ने राकेश कुमार शाह र पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका-६ सन्ठी बस्ने अजित मग्नी रहेका छन्। इलाका प्रहरी कार्यालय पर्सौनी, लागूऔषध ब्युरो वीरगञ्ज र इलाका प्रहरी कार्यालय छतवाको संयुक्त टोलीले ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउपछि खानतलासी गर्दा राकेश शाहले लगाएको कालो हाफ पाइन्टमा लुकाईछिपाई राखेको अवस्थामा सेतो प्लास्टिकमा ब्राउन सुगर जस्तो देखिने सेतो धुलो पदार्थ १७ ग्राम ३९० मिलिग्राम बरामद गरिएको छ। प्रहरीले घटनामा प्रयोग भएको अवस्था BR05BT3756 नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

सम्बन्धित पोस्टहरुः