वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवको चुनावी अभियान तीव्र र प्रभावकारी बन्दै गएको छ। यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ बिर्तामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम उल्लेखनीय उपस्थितिसहित सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उम्मेदवार यादवलाई माला, खादा र टीका लगाएर भव्य स्वागत गरिएको दृश्यले चुनावी माहोल तातेको संकेत दिएको छ। सहभागीहरूले “सूर्यमा मतदान, समृद्धिको अभियान” भन्ने नारासहित उत्साहपूर्ण समर्थन व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदीप यादवले पर्सा–१ को समग्र विकास, रोजगारी सृजना, उद्योग–व्यवसायको प्रवर्द्धन, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताए। उनले वीरगञ्जलाई मधेशको आर्थिक राजधानीका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता दोहोर्याउँदै भने, “अब राजनीतिक स्थिरता र विकासको स्पष्ट मार्गचित्रसहित अगाडि बढ्न आवश्यक छ, र त्यो नेतृत्व एमालेले मात्रै दिन सक्छ।”
समसामयिक राजनीतिक परिस्थितिमा पर्सा–१ लाई निर्णायक क्षेत्रका रूपमा हेरिएको छ। विभिन्न दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा एमाले उम्मेदवार यादवको पक्षमा देखिएको सक्रियता र संगठनात्मक एकताले चुनावी समीकरण बदल्ने संकेत गरेको छ। विशेषगरी युवा, व्यवसायी र श्रमिक वर्गको साथले उनको अभियान थप मजबुत बनेको स्थानीय नेताहरूको दाबी छ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले विगतका अस्थिरता र विकासमा देखिएको सुस्ततालाई अन्त्य गर्दै स्थायित्व र परिणाममुखी नेतृत्वका लागि प्रदीप यादवलाई विजयी गराउनुपर्ने धारणा राखे। उनीहरूले फागुन २१ गते सूर्य चुनाव चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाए।
वीरगञ्ज–४ बिर्ताबाट सुरु भएको यो उत्साहले पर्सा–१ मा प्रदीप यादवको पक्षमा जनलहर क्रमशः बलियो बन्दै गएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। निर्वाचन नजिकिँदै जाँदा एमालेले घरदैलो, टोलसभा र कार्यकर्ता परिचालनलाई थप तीव्र बनाउने रणनीति लिएको जनाएको छ।












