काठमाडौं ! पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानी प्रशोधन नगरी सिधै सिर्सिया नदीमा मिसाइँदा नदी गम्भीर रूपमा प्रदूषित भएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले सदियौँदेखि वीरगञ्ज हुँदै बग्ने ऐतिहासिक सिर्सिया नदी उद्योगहरूको लापरबाहीका कारण दुर्गन्धित नालामा परिणत भएको बताउनुभयो। उहाँले उद्योगहरूबाट निस्कने विषाक्त फोहोर पानीका कारण नदीको अस्तित्व नै संकटमा परेको उल्लेख गर्नुभयो।
उहाँले लोकआस्थाको महान् पर्व छठका बेला कुनै समय सिर्सिया नदीकै पानीमा उभिएर अर्घ्य दिने परम्परा रहेको स्मरण गराउँदै अहिले भने नदीबाट आउने दुर्गन्धका कारण त्यहाँ खुट्टा टेक्नसमेत कठिन हुने अवस्था सिर्जना भएको बताउनुभयो।
सांसद पन्तले प्रदूषित सिर्सिया नदी लामखुट्टेको प्रमुख प्रजननस्थल बनेको र नदी आसपासका बासिन्दा दुर्गन्ध तथा लामखुट्टेको समस्याले राति चैनसँग सुत्नसमेत नसक्ने अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभयो।
उहाँले पछिल्ला केही वर्षदेखि समस्या विकराल बन्दै गए पनि संघीय, प्रदेश र स्थानीय सरकारहरूले चुनावी घोषणापत्रमा मात्र सीमित राखेको आरोप लगाउँदै सिर्सिया नदीको संरक्षण र पुनर्जीवनका लागि प्रभावकारी काम हुन नसकेको टिप्पणी गर्नुभयो।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास व्यक्त गर्दै मतदान गरेका पर्सावासीले वर्तमान सरकारबाट सिर्सिया नदी सफाइ र संरक्षणमा ठोस पहलको अपेक्षा गरेको उल्लेख गर्दै सांसद पन्तले सिर्सिया नदीलाई पुनर्जीवन दिन यथाशीघ्र प्रभावकारी कदम चाल्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो !!









