वीरगंज, ११ असार । मेयर राजेशमान सिंह निलम्बनमा परेपछि वीरगंज महानगरपालिकाको दैनिक व्यवस्थापन र विकास गतिविधिमा ठूलो प्रभाव देखिन थालेको छ। उनको सक्रिय नेतृत्वमा सफा र व्यवस्थित देखिने वीरगंज बजार अहिले सरसफाइ र सुशासन दुवैमा खुकुलो बनेको स्थानीयको गुनासो छ।
वीरगंज–११,श्रीपुर निवासी तुलसी महतो धानुकसँग मधेश टिभीले कुरा गर्दा उनले मेयर सिंहको कार्यशैलीको प्रशंसा गरे। धानुकका अनुसार, “जनताको घरदैलोमा पुग्ने मेयरको यो शैलीले उहाँ जनताको दुःख–सुखको साथी र भाइ पनि हुनुहुन्छ भन्ने देखाउँछ। उहाँ हुँदा समस्या सिधै सुनाउन पाइन्थ्यो, अहिले त्यो बाटो बन्द जस्तै भयो।”
स्थानीय व्यापारी र सर्वसाधारणको भनाइ छ, “मेयर राजेशमान सिंह हुँदा वीरगंज बजार सफा र व्यवस्थित देखिन्थ्यो। अहिले उहाँ निलम्बन भएपछि सरसफाइमा केही कमी आएको महसुस हुन थालेको छ।”
फोहोर उठाउने समयमा ढिलाइ हुन थालेको छ। मुख्य बजार र गल्लीमा फोहोरको थुप्रो देखिन थालेको छ। भित्री सडक स्तरोन्नति र मर्मतका कामहरू रोकिएका छन् ।









