मुजफ्फरपुरको प्रसाद अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिएपछि १० भन्दा बढीको मृत्युको दाबी, २० भन्दा बढीको उद्धार

मुजफ्फरपुर :- जाकिर हुसैन – भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रस्थित प्रसाद हस्पिटलमा सोमबार बिहान भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको दाबी गरिएको छ। अस्पतालको आईसीयू वार्डमा लागेको आगोका कारण पूरै परिसरमा धुवाँ भरिएपछि उपचाररत बिरामीहरू अलपत्र परेका थिए।

स्थानीय स्रोतका अनुसार घटनामा १० भन्दा बढी बिरामीको मृत्यु भएको दाबी गरिएको छ भने २० भन्दा बढी बिरामीलाई उद्धार गरी बाहिर निकालिएको छ। उद्धार गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बुझिएको छ।

घटनाको खबर पाएलगत्तै अग्निशमन विभागका करिब एक दर्जन गाडी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। फायर ब्रिगेडका टोलीले आईसीयू र अन्य वार्डमा फसेका बिरामीलाई बाहिर निकाली सुरक्षित स्थानमा सारेका थिए।

अग्निशमन अधिकारी आर.एन. पाण्डेयका अनुसार बिहान करिब ३ बजे आगलागीको सूचना प्राप्त भएको थियो। “हामी पुग्दासम्म आईसीयू पूरै धुवाँले भरिएको थियो। अस्पतालका अधिकांश कर्मचारी घटनास्थलबाट हराइरहेका थिए। अहिलेसम्म २० भन्दा बढी बिरामीको उद्धार गरिसकेका छौं। १० जनाको मृत्युको सूचना आएको छ,” उनले बताए।

घटनास्थलमा पुगेका मृतकका आफन्तले अस्पताल व्यवस्थापनमाथि गम्भीर आरोप लगाएका छन्। आईसीयूमा उपचाररत आफ्ना बुबाको मृत्यु भएको भन्दै एक आफन्तले भने, “अस्पताल प्रशासनले शवसमेत दिएन। आगलागीपछि अस्पतालका कर्मचारी सबै फरार भए।”

हालसम्म मृत्युको आधिकारिक पुष्टि प्रशासनबाट भइसकेको छैन। जिल्ला प्रशासनले घटनाको अनुसन्धान थालेको छ र मृतकको सङ्ख्या यकिन गर्न खोजिरहेको छ। राहत तथा उद्धार कार्य भने जारी छ।

अस्पताल व्यवस्थापन र कर्मचारी पक्षको भनाइ भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। आधिकारिक विवरण आएसँगै समाचार अपडेट गरिनेछ।

सम्बन्धित पोस्टहरुः