वीरगन्ज, १० वैशाख – पर्सा प्रहरीले वीरगन्जका विभिन्न मदरसाहरूमा चेकजाँचलाई कडा बनाएको छ।
पहिलो चरणमा मंगलबार वीरगन्जको छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा दर्ता नभएको एक मदरसा फेला परेको छ। उक्त मदरसालाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्र.नि. विक्रम सुवेदीले जानकारी दिए।
“दर्ता नगरी कुनै पनि शैक्षिक संस्था सञ्चालन गर्न पाइँदैन। कानुनी प्रक्रिया पूरा नगरे कारबाही अघि बढाउँछौं,” प्र.नि. सुवेदीले भने।
किन बढ्यो निगरानी?
विगतमा भएका गतिविधिलाई मध्यनजर गर्दै पर्सा प्रहरी तथा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले वीरगन्जका अन्य मदरसाहरूमा समेत निरन्तर अनुगमन तथा चेकजाँचलाई तीव्रता दिने जनाएको छ।
प्रहरीले मदरसाका सञ्चालकको विवरण, शिक्षक-विद्यार्थीको संख्या, पढाइने पाठ्यक्रम र आर्थिक स्रोतबारे समेत जानकारी लिइरहेको छ। सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नियमित निगरानी थालिएको प्रहरी स्रोतको भनाइ छ।





