वीरगन्ज, ७ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको समग्र विकासका लागि निरन्तर समर्पित मेयर राजेशमान सिंहप्रति वीरगन्ज-११, श्रीपुर निवासी तुलसी महतो धानुकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
“उहाँले भोटमुखी राजनीतिभन्दा विकासमुखी सोच र कार्यलाई प्राथमिकता दिनुभएको देख्दा अत्यन्त खुशी लागेको छ,” मेयरसँगै बसेर कुरा गर्दै महतोले भने। “यस्ता प्रतिबद्ध र कर्मठ नेतृत्वले नै समाज र देशलाई सही दिशामा अगाडि बढाउन सक्छ भन्ने विश्वास लिएको छु। आगामी दिनहरूमा पनि उहाँको यो प्रयास निरन्तर रहोस् भन्न चाहन्छु।”
पछिल्लो समय मेयर सिंह सडक विस्तार, अतिक्रमण हटाउने अभियान र सहरको सौन्दर्यकरणमा आफैं फिल्डमा खटिँदै आएका छन्। आयल निगमदेखि मुर्ली चोकसम्म २४ घण्टे अल्टिमेटम दिएर बाटो खुलाउनेदेखि मितेरी पुल–गण्डक चोक २५/२५ मिटर बनाउन डोजरसँगै उभिने उनको शैलीले स्थानीयको मन जितेको छ।
“कुर्सीमा बसेर भाषण गर्ने होइन, जनताको बीचमा बसेर काम गर्ने नेता पाएका छौं,” श्रीपुरका महतोले थपे। “विवाद र दबाबका बाबजुद सर्वोच्चको फैसला कार्यान्वयन गरेर विकासलाई निरन्तरता दिनु चानचुने कुरा होइन।”
वीरगन्जका विभिन्न वडाका बासिन्दाले “काम बोल्छ” भन्दै मेयरको खटाइलाई सामाजिक सञ्जालमा समेत समर्थन जनाइरहेका छन्।





