वीरगन्ज, ६ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी भइरहेको तस्बिर सार्वजनिक भएको छ। छपकैया, भकुवा, शिक्षा अफिस, ड्राइपोर्ट, बलरामपुर क्षेत्र हुँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ।
मार्च २३, २०२६ मा मधेश प्रदेशमा खिचिएको तस्बिरमा मोटरसाइकल र साइकलमा ठूलो परिमाणमा झोला बाँधेर सामान ओसारिरहेको देखिन्छ। स्थानीयका अनुसार यसरी दैनिक रूपमा आइसक्रिम, मोटर पार्ट्स, कपडा, जुत्ता-चप्पल, ललिपप, माछा लगायतका सामान अवैध रूपमा भित्र्याइन्छ।
स्थानीयको गुनासो:
“छट्टी भन्सार नाका भनेर चिनिने श्रीसिया क्षेत्रबाट दिनदहाडै तस्करी हुन्छ। छपकैयादेखि बलरामपुरसम्मको रुटमा सशस्त्र र जनपद प्रहरीकै आँखा अगाडि सामान ओसारिन्छ,” एक स्थानीयले नाम नबताउने सर्तमा भने। “तर सरकारको ध्यान जाँदैन।”
भारत–नेपाल सीमामा कडाइ गरेको दाबी गरिए पनि छट्टी भन्सार जस्ता साना नाकाबाट हुने तस्करी नियन्त्रणमा चुनौती देखिएको छ। यसअघि १८ अप्रिल २०२६ मा रक्सौलमा भएको उच्चस्तरीय सीमा समीक्षा बैठकमा ४ वर्षमा २२,५०० मदिरा तस्करी र ४४८ लागुऔषधका मुद्दा दर्ता भएको तथ्यांक सार्वजनिक भएको थियो।
यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायको आधिकारिक धारणा आउन बाँकी छ।




(पत्रकार जाकिर हुसैन फोटो )








