सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगंज, २३ चैत । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा आयोजना गरिएको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुर्ई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरणका नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछाने एवं सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीको उपस्थितिमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख आर्या रावल, सहायक निर्देशक महेश मण्डल, सहायक निर्देशक सुस्मा थापा, सहायक प्रथम निकेश लाल कर्ण उपस्थिति रहेको थियो ।
कार्यक्रममा पहिलो दिन चैत्र २० गते कार्यक्रम सञ्चालन सहायक निर्देशक सुस्मा थापा र दोस्रो दिन चैत्र २१ गते सहायक निर्देशक महेश मण्डलले गर्नु भएको थियो । स्वागत मन्तव्य कार्यालय प्रमुख श्री आर्या रावलले राख्नु भएको थियो।

चैत्र २० गते बीमक संस्थाका अन्डरराइटिङ कर्मचारी तथा शाखा प्रमुखहरूसँग विद्यमान नियम, कानुन, निर्देशन तथा व्यवहारिक कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई जोखिम पहिचान, ग्राहकको उचित पहिचान, शंकास्पद कारोवारको पहिचान तथा प्रतिवेदन पेश गर्ने प्रक्रिया लगायतका महत्वपूर्ण पक्षहरूवारे जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी दोस्रो दिन चैत्र २१ गते बीमक संस्थाका मधेश प्रदेश प्रमुखहरूसँग उच्च तहको नीति, नियमन र कार्यान्वयन रणनीतिका विषयमा गहन अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा वित्तीय लगानी निवारण सम्बन्धी कानुनी दायित्व, संस्थागत उत्तरदायित्व, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा अनुपालन सुनिश्चित गर्ने उपायहरूमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि बीमा क्षेत्रको भूमिका अत्यन्त महत्पूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवालाहरूलाई सचेत, जिम्मेवार र प्रतिबद्ध भई कार्य गर्न आग्रह गर्नुभयो। साथै, प्रभावकारी कार्यान्वयनका लागि नियमित तालिम, अनुगमन तथा समन्वय आवश्यक रहेकोमा पनि जोड दिइयो।

कार्यक्रमका सभाध्यक्ष शाम्भा राज लामिछानेले हालको वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाइराख्न वित्तीय लगानी निवारण प्रभावकारी कार्यान्वयन अपरिहार्य भइसकेको जानकारी गराउनुभयो । यस सन्दर्भमा बीमा क्षेत्रको भूमिका पनि उत्तिकै महŒवपूर्ण रहेको र बीमकहरूले ग्राहक पहिचान जोखिम मूल्याङ्कन, तथा शंकास्पद कारोवारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

उहाँले अन्तरक्रिया कार्यक्रमहरूले बीमा क्षेत्रका कर्मचारी तथा व्यवस्थापन तहबीच ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानुनी अनुपालनमा एकरूपता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको भन्नु हुंदै कार्यक्रमको विधिवत समापन गर्नु भएको थियो।

सम्बन्धित पोस्टहरुः