वीरगंजका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान

​वीरगंज – वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगंज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। महानगरको वडा नं. १७, २४ र २६ मा वर्षातका बेला हुने डुबानको समस्यालाई महानगरले योजनाबद्ध रूपमा समाधान गरेपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको हो।

​यी क्षेत्रहरूमा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला र पाइपलाइनको अभावले हरेक वर्ष बस्तीहरू जलमग्न हुने गरेका थिए। सडक र घर-आँगनमा पानी जम्ने, घरभित्रै पानी पस्ने र आवतजावत ठप्प हुने समस्याले दैनिक जनजीवन कष्टकर बन्दै आएको थियो। समस्या समाधानका लागि यसअघि पनि पटक-पटक प्रयास भए तापनि स्थानीयस्तरमा कुरा नमिल्दा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुन सकेको थिएन।

​यसपटक महानगर प्रमुख राजेशमान सिंहले विशेष सक्रियता देखाउँदै प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र सम्बन्धित सरोकारवालाहरूलाई राखेर निकासको गाँठो फुकाउन पहल गर्नुभएको थियो। स्थानीय बासिन्दासँगको निरन्तर संवाद र समन्वयपछि अवरुद्ध निकास खोल्न सहमति जुटेको हो। महानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दुहरूको पहिचान गरेपछि त्यहाँ ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरिएको छ।
​हाल जडान गरिएका नयाँ संरचनाका कारण वर्षौँदेखि जमेर बस्ने पानी सहजै बाहिर निस्कन थालेको छ। स्थानीय बासिन्दाले लामो समयदेखिको पीडा अन्त्य भएकोमा महानगरको पहलप्रति आभार प्रकट गर्दै अब वर्षायाममा ढुक्कले बस्न पाउने विश्वास व्यक्त गरेका छन्।

​महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यो सफलतालाई शहरी व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ। उहाँका अनुसार महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पनि पहिचान गरी क्रमशः निकासको काम अघि बढाउने छ। साथै, निर्मित संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राखेर शहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य महानगरले लिएको छ।

neelambads
सम्बन्धित पोस्टहरुः