पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका का विभिन्न टोलमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव ले घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत कुमार टोल, गणेशमान चोक, अमर चोक लगायतका क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार यादवप्रति उल्लेख्य जनसमर्थन देखिएको छ। घरदैलोका क्रममा मतदाताबाट प्राप्त न्यानो स्वागत, आशिर्वाद र उत्साहले पर्सा–१ मा जसपाको चुनावी माहोल थप तातेको छ।
स्थानीय बासिन्दाले मधेसी समुदायको अधिकार, स्वाभिमान र समग्र क्षेत्रको समृद्धिका लागि यसपटक ‘छाता’ चुनाव चिह्नमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घर–घरमा पुगेका उम्मेदवार यादवलाई स्थानीयले “अब परिवर्तनको समय आएको छ” भन्दै उत्साहपूर्वक साथ दिएका थिए।
कार्यक्रमका क्रममा मतदाताले दुई–दुई पटक अवसर पाउँदा पनि अपेक्षित विकास गर्न नसक्ने पुराना प्रतिनिधिलाई बिदाइ गर्ने समय आएको प्रतिक्रिया दिएका छन्। यसपटक अधिकार, सुशासन र जवाफदेही नेतृत्वका लागि मतदान गर्ने उनीहरूको भनाइ थियो।
उम्मेदवार यादवले जनताको विश्वास र समर्थनलाई ठूलो जिम्मेवारीका रूपमा लिँदै निर्वाचित भएमा मधेसी अधिकार, समान विकास, रोजगारी र सुशासनका मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।











