पछिल्लो चार दशकदेखि चलिआएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, नेपाली जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित कानुले स्थानीय मतदातालाई रास्वपाका सबै उम्मेदवारलाई जिताउन घण्टीमा भोट हाल्न अनुरोध गरे ।
“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद, मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन,” कानुले भने, “शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।” उनले यदि आफू निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने प्रतिबद्धता जनाए ।
कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए । “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे ।
कृषि क्षेत्रको समस्या औँल्याउँदै कानुले किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे । “युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनको भनाइ छ ।
घरदैलोका क्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, सडक र खाने पानीमा लामो समयदेखि सुधार नभएको गुनासो गरेका थिए । जवाफमा कानुले “जनताको आवाज संसद्मा पुर्याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने” प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा सहभागी स्थानीय युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वप्रति आकर्षण बढ्दै गएको बताए । ज्येष्ठ नागरिक र महिलाहरूले पनि “यसपालि सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने” प्रतिक्रिया दिए ।











