वीरगंज, ११ फागुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९ः४५ बजेदेखि वीरगंजमा लगाइएको कर्फ्यु हटाई निषेधाज्ञा जारी गरिएको छ ।
वीरगंजको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आज भएको सर्वपक्षीय बैठकमा वीरगंजमा सांझदेखि कफ्र्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराएका छन् ।
साथै परिस्थिति पूर्ण रूपमा सामान्य भई नसकेको वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगंज महानगरपालिकामा बेलुका ६ बजेदेखि मंगलवार बिहान ८ सम्म निषेधाज्ञा जारी गरिएको जिप्रका, पर्साले जनााएको छ ।
निषेधाज्ञा अवधिभरि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको तथा उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने प्रजिअ दाहालले जानकारी गराएका छन् ।
निषेधाज्ञा वीरगंज महानगरको पूर्वमा बाइपास, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस र दक्षिणमा घण्टाघर चोकसम्म लगाइएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।











