घरदैलोका क्रममा उनले मतदातासँग भेट गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्न तथा परिवर्तन ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।
पछिल्लो चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपाले चुनाव लडिरहेको उनको भनाइ थियो । उनले पर्सा क्षेत्रका सबै रास्वपा उम्मेदवारलाई जिताउन मत मागे ।
“पर्सा जिल्लामा देशकै आर्थिक नगरी वीरगञ्ज पर्छ । भौगोलिक तथा कूटनीतिक दृष्टिकोणले पनि यो क्षेत्र महत्त्वपूर्ण छ,” कानुले भने, “तर यहाँबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।”
निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने कानुले प्रतिबद्धता समेत जनाए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिई जनताका आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ । “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे ।
कृषि क्षेत्रका समस्या औँल्याउँदै उनले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाउने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने बताए । “युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले भने ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा लामो समयदेखि सुधार नभएको गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा पुर्याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा सहभागी स्थानीय युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वप्रति आकर्षण बढ्दै गएको बताए । ज्येष्ठ नागरिक तथा महिलाहरूले पनि “यसपालि सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने” प्रतिक्रिया दिएका थिए ।











